ताप्लेजुङ । राष्ट्रिय बाल दिवसको अवसर पारेर ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९, हादेवा वडा कार्यालयले शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको छ।

जनता माध्यमिक विद्यालय, हादेवामा सोमबार आयोजित कार्यक्रममा लामो समय शिक्षण सेवामा रहेर सेवानिवृत्त भएका २७ जना पूर्वशिक्षकलाई कदरपत्रसहित सम्मान गरिएको हो। विद्यालय र शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय पतङ्वा लिम्बूले बताउनुभयो।

कार्यक्रममा वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा सेवा पुर्‍याएका सात जना स्वास्थ्यकर्मीलाई समेत सम्मान गरेको छ। त्यस्तै, जनता माविका पूर्वविद्यार्थी तथा हाल साहित्य क्षेत्रमा सक्रिय लक्ष्मीप्रसाद मादेन ‘लेकाली कान्छा मुक्कुम’ लाई पनि विद्यालयले सम्मान गरेको छ।

बाल दिवसकै अवसरमा विद्यालयमा आयोजित विभिन्न अतिरिक्त तथा सिर्जनात्मक क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक रामबहादुर गुरुङले जानकारी दिनुभयो।

यसैबीच, विद्यालयका पूर्वविद्यार्थी सागर माबोहाङ, सञ्जय पतङ्वा लिम्बू, लक्षुमन गुरुङ र गोविन्द बरालले संयुक्त रूपमा करिब ३० हजार रुपैयाँ बराबरका रबरका कुर्सी विद्यालयलाई सहयोग गर्नुभएको छ।

कार्यक्रममा सम्मानित पूर्वशिक्षक, स्वास्थ्यकर्मी तथा उत्कृष्ट विद्यार्थीलाई वडाध्यक्ष लक्षुमन गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पतङ्वा लिम्बू, प्रधानाध्यापक गुरुङलगायतले सम्मानपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो।

विद्यालय र वडा कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रम वडा कार्यालयको सहयोगमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!