-तरुण भारती
ताप्लेजुङ । रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी विपद्बाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ।
देशभर सञ्चालित सदस्य विद्यालयबाट संकलित रकममध्ये १२ करोड रुपैयाँ सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिएको प्याब्सनले जनाएको छ। विपद्का बेला निजी विद्यालय क्षेत्रले शिक्षण संस्थाको भूमिकासँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्ने सन्देशसहित प्याब्सनले सहयोग अभियान सञ्चालन गरेको हो।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले विपद्का कारण देश नै दुःखमा परेको अवस्थामा राष्ट्रलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनमा देशभरका ६ हजारभन्दा बढी निजी तथा आवासीय विद्यालय आबद्ध रहेको उहाँले जानकारी दिनुभयो।
प्याब्सन महासचिव आरबी कटवालका अनुसार सदस्य विद्यालयहरूले आफ्ना नियमित सञ्चालन खर्च, शिक्षक तथा कर्मचारीको दायित्व तथा राज्यलाई बुझाउनुपर्ने करसमेत व्यवस्थापन गर्दै राहत अभियानमा उत्साहपूर्वक सहयोग गरेका छन्। विद्यालयहरूको अपेक्षाभन्दा बढी सहयोग प्राप्त भएकाले थप रकमसमेत संकलन भएको उहाँको भनाइ छ।
यस अभियानमा ताप्लेजुङ प्याब्सनले पनि ६ लाख ५१ हजार १ सय १५ रुपैयाँ योगदान गरेको छ। ताप्लेजुङका सदस्य निजी विद्यालयबाट संकलित उक्त रकम राहत कोषमा जम्मा गरिएको प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो।
प्याब्सनले राहत रकम संकलनलाई पारदर्शी बनाउन जिल्लास्तरबाट संकलित विवरण प्रदेश हुँदै केन्द्रमा पठाउने व्यवस्था गरेको जनाएको छ। सहयोगको समग्र विवरण सरकारलाई उपलब्ध गराउने तथा सहयोग गर्ने विद्यालय र संस्थाको योगदानको कदरस्वरूप सरकारसँगको सहकार्यमा प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने अध्यक्ष अधिकारीले बताउनुभयो।
यसैबीच, विपद्बाट रसुवा र नुवाकोटमा रहेका प्याब्सनका पाँच सदस्य विद्यालयसमेत गम्भीर रूपमा प्रभावित भएका छन्। ती विद्यालयको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्याब्सनले छुट्टै २ करोड रुपैयाँ विनियोजन गरेको महासचिव कटवालले जानकारी दिनुभयो। उक्त रकम विद्यालयका भौतिक संरचना पुनर्निर्माण तथा शैक्षिक गतिविधि पुनः सञ्चालनमा खर्च गरिने जनाइएको छ।
अध्यक्ष अधिकारीका अनुसार यस महिनाको ३१ गतेसम्म थप प्राप्त हुने सहयोग रकममध्ये प्रभावित विद्यालयको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि छुट्याइएको २ करोड रुपैयाँबाहेक बाँकी सम्पूर्ण रकम पनि नेपाल सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिनेछ।
महासचिव कटवालले निजी विद्यालयहरू शिक्षा प्रदान गर्ने संस्था मात्र नभई देश संकटमा पर्दा सरकार र समुदायको सहयोगी तथा जिम्मेवार साझेदारसमेत भएको बताउनुभयो। गुणस्तरीय शिक्षासँगै राष्ट्रप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्नु निजी विद्यालय क्षेत्रको पनि दायित्व भएको उहाँको भनाइ छ।
प्याब्सनमार्फत संकलित सहयोग देशभरका हजारौँ निजी विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीको सामूहिक एकता, सामाजिक जिम्मेवारी र विपद्मा पीडितसँग उभिने प्रतिबद्धताको प्रतीक भएको प्याब्सनले जनाएको छ। विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्याब्सनले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्याब्सनले आगामी दिनमा पनि विपद् तथा राष्ट्रिय संकटका समयमा सरकार र नेपाली जनताको साथमा रहने प्रतिबद्धता जनाएको छ।







