ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार सोमबार बिहान करिब २ः४० बजे आठराई त्रिवेणी गाउँपालिका–को हाङपाङबाट गोलिया बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर दोभानस्थित मैवाखोला पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको हो ।
दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समिर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर बिहान ४ः२० बजे घटनाबारे मौखिक जानकारी गराएका थिए ।
प्रहरीका अनुसार ट्याक्टर चालक ठेगाना नखुलेका समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बो बेपत्ता छन् । दुर्घटनापछि उनीहरूको खोजीका लागि बिहानैदेखि प्रहरी र स्थानीयको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







