-सुरेन्द्र बस्नेत

ताप्लेजुङ। प्राकृतिक सौन्दर्यले भरिएको ताप्लेजुङको तिम्बुङ पोखरी क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने उद्देश्यले आयोजना गरिएको तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन सम्पन्न भएको छ ।

साहसिक पर्यटनको सम्भावना बोकेको तिम्बुङ क्षेत्रमा देशका विभिन्न जिल्लाका धावकलाई सहभागी गराउँदै ट्रेल रन आयोजना गरिएको हो । कठिन भौगोलिक भूगोल र आकर्षक पदमार्गमा हुने यस्तो प्रतियोगिताले तिम्बुङलाई खेलकुदसँगै साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रचार गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

२१ किलोमिटर दूरीको पुरुष खुल्लातर्फ इलामका सञ्जय राई विजेता बन्नुभएको छ । उहाँले १ घण्टा २४ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्नुभयो । सोलुखुम्बुका अर्जुन कुलुङ राई दोस्रो र ताप्लेजुङको मैवाखोलाका फुर्वा लाक्पा शेर्पा तेस्रो हुनुभयो ।

महिलातर्फ डोल्पाकी सुनसरी रोक्का ‘कमला’ क्षेत्रीले १ घण्टा ४६ मिनेटमा दूरी पार गर्दै उपाधि जित्नुभयो । पाँचथरकी सम्झना लिम्बू दोस्रो हुनुभयो ।

प्रतियोगितामा सहभागी धावकले तिम्बुङको प्राकृतिक सौन्दर्य, पदमार्ग र चुनौतीपूर्ण भूगोलको प्रत्यक्ष अनुभव गरेका छन् । यसले तिम्बुङ पोखरी तथा आसपासका क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र पर्यटक आकर्षित गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी, स्थानीय धावकको सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको ट्रेल रनमा सिदिङ्वा गाउँपालिका–१ कालिखोलाका भरत बानियाँ प्रथम हुनुभएको छ ।

तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिको आयोजनामा भएको प्रतियोगितामा विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

आयोजकले खेलकुदलाई पर्यटनसँग जोडेर तिम्बुङ क्षेत्रको प्रचार, स्थानीय पर्यटन व्यवसायको विस्तार र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!