-सुरेन्द्र बस्नेत
ताप्लेजुङ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर ताप्लेजुङमा महिला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
भदौ २६ गते सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न महिला फुटसल टोलीहरूको सहभागिता रहने कुलकर्ण फुटसलकी महिला टिम संयोजक याङ्की भोटिया मादेनले जानकारी दिनुभयो।
पछिल्लो समय खेलकुद क्षेत्रमा महिलाहरूको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको भन्दै उनीहरूको उत्साह, ऊर्जा र आत्मविश्वास थप बढाउन प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष अञ्जना कर्णरियाले बताउनुभयो।
उहाँका अनुसार प्रतियोगिताले महिलालाई खेलकुदमा थप आकर्षित गर्नुका साथै प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत प्रदान गर्नेछ।
प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
तीजलाई केवल सांस्कृतिक पर्वका रूपमा मात्र नभई महिला सहभागिता, आत्मविश्वास र खेलकुद प्रतिभा उजागर गर्ने अवसरका रूपमा मनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।







