१७ असार, ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाका प्राबिधिक प्रमुख अख्तर हुसेनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग एक लाख रुपियाँ घुस रकम लिएको आरोपमा हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार नियन्त्रणमा लिएको हो ।
सदरमुकाम फुङ्लिङ बजारस्थित कोठा भाडामा बस्दै आएका हुसेनलाई निवासबाटै अख्तियार टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अख्तियार टोली हुसेनलाई नियन्त्रणमा लिई निजको कोठा खानतलासी गर्दा एक लाख रुपियाँ बढी रकम फेला परेको बताइएको छ । फुङ्लिङ नगरपालिका –२ तारिबुङमा निर्माणाधीन खेलमैदानका लागि बिनियोजित ८ लाख रुपियाँको बजेटमा निर्माणमा व्यवसायीबाट २० प्रतिशतले हुन आउने रकम मागेपछि निर्माण व्यावसायि बिरबहादुर तामाङ अख्तियारमा उजुरी गरेका थिए।
निर्माण सम्पन्न भए पश्चात् कोटेसनको ठेक्का भएकाले रु. ६६४५४१.९७ रुपैयाँ निकासा भएको तामाङले जानकारी दिए। सोहि रकमको अन्तिममा १५% मा बार्गेनिङ भए पनि रु. १ लाखमा सहमति गरेको तामाङको भनाइ रहेको छ।
अख्तियारको टोलीले भने खानतलासी सहितका सबै कार्य पूरागरी मुचुल्काको प्रक्रिया पूरा भएपछि मात्र घटना विवरणबारे आधिकारिक जानकारी दिने बताएको छ।








