ताप्लेजुङ । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मधेस प्रदेशको सलहेस युवा क्लब सिराहा ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रबेश गरेको छ ।
आज भएको अन्तिम सेमीफाइनलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त १५ मिनेटमा दुबैले १–१ गोल गरेपछि खेल ट्राइब्रेकरमा धकेलिएकोे थियो । ट्राइब्रेकरमा बिर्तामोडका निमा तामाङ र शौरभ लिम्बू गोल गर्न चुकेपछि सलहेस उपाधि नजिक पुगेको हो ।
सिराहाको तर्फबाट जय गुरुङ, आदित्य शाक्य, सन्तोष खत्री र प्रबेश दनुवारले गोल गरे । सृजन गौतमले भने गोल पोष्ट बाहिर हाने । बिर्तामोडका निमा तामाङले हानेको गोल सलहेसका प्रदिप भण्डारीले रोकिदिए भने शौरभले पोष्ट बाहिर हाने । आजको खेलको म्यान अफ द म्याच सलहेसका गोल किपर प्रदिप भण्डारी भए ।
यसअघि १८ औं मिनेटमा सलहेसका ग्लोरि जोनले गोको पहिलो खाता खोलेको थियो । हाफ टाइमपछि ५६ औं मिनेटमा बिर्तामोडका शौरभ सुब्बाले बराबरी बनाए । भाद्र १० गते हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङ र सलहेस युथ क्लब आमने सामने हुनेछन् । बिजेताले ५ लाख र उप बिजेताले २ लाख ५० हजार प्राप्त गर्ने छन् ।







