बिहीबार प्रकाशित भएको एसइई परीक्षाफलअनुसार ताप्लेजुङका २३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ। ६ आवसीय र ६२ सामुदायिक गरी जिल्लाका ६८ विद्यालयमध्ये २३ वटा सामुदायिक विद्यालयबाट कुनै पनि परीक्षार्थी पास नभएका जिल्ला शिक्षा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए।
जिल्लाबाट २०८० सालमा एक हजार ६ सय ९६ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। तीमध्ये २३७ जना मात्र पास भएका छन्।
प्रमुख भट्टराईका अनुसार फुङलिङ नगरपालिका– ११ फावाखोलास्थित सिम्बु मावि, फक्ताङलुङ गाउँपालिकाकामा रविकला मावि, आदर्श मावि, सेवालुङ मावि, सुनदेवी मावि र सेवालुङ माविबाट कुनै पनि विद्यार्थीहरु पास हुन सकेनन्। मिक्वाखोला गाउँपालिकाको पञ्चेश्वरी मावि. र साँवा माविले शून्य रिजल्ट ल्याएका छन्।
यसैगरी, मेरिङदेन गाउँपालिकाबाट त्रिभूवन मावि, पान्दोलुङ मावि र सिंहकाली मावि तथा आठराई त्रिवेणी गाउँपालिकाका परमसिंह मावि, गुप्तेश्वर मावि र सरस्वती मावि.ले शुन्य नतिजा ल्याए। पाथीभरा याङवरक गाउँपालिकाका ६ वटा विद्यालयमध्ये चाक्सिवोटे माविको नतिजा शून्य छ।
उता, सिदिङ्वा गाउँपालिकामा निलगिरी मावि, सरस्वती मावि र सिहेंश्वरी मावि, सिरिजंघा गाउँपालिकामा सरस्वाति मावि, राष्ट्रिय मावि र दुर्गा मावि तथा मैवाखोलाको पाटीडाडा मावि र फाकुम्बुमा रहेको महेन्द्र माविको नतिजा शून्य आएको छ। स्रोत: नयाँ पत्रीका दैनिक







