५ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा पेट्रोलियम पदार्थको कालोबजारी बढेको छ । संक्रमणको महामारीकाबीच यहाँका खुद्रा पसलदेखि तरकारी पसलहरुले समेत बोतलमा भरेर पेट्रोलियम पदार्थको विक्रि वितरण गरिरहेकाछन् । फुङ्लिङ बजारमा रहेका विभिन्न फलफुल तथा तरकारी पसलमा फलफुल सँगै राखेर महंगोमा पेट्रोलियम पदार्थ किनबेच भइरहेको स्थानीयले बताए ।
यसरी पसल पिच्छे पेट्रोलियम पदार्थको मूल्य पनि फरक फरक रहेको छ । पाथीभरा आयल सप्लायर्सले विक्रि गर्ने गरेको भन्दा प्रतिलिटर ३२ रुपैँया बढिले विक्रि गरिदै आएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर रु १६० मा विक्रि भईरहेको छ ।
व्यापारीहरुले नियम मिचेर आफ्नो मुनाफाका लागि पेट्रोलियम पदार्थको कालोबजारी गरिरहँदा नियमक निकाय भने मौन जस्तै छन् ।
ताप्लेजुङमा मान्यताप्राप्त पाथीभरा आयल सप्लायर्सले भने संक्रमणका कारण नियमित पेट्रोलियम पदार्थ आयात नहुँदा अभाव सृजना भएको जनाएको छ ।
यता नेपाल आयल निगम प्रदेश नम्बर १ का कार्यलय प्रमुख मनिष न्यौपानेले भने अहिलेको अवस्थामा पम्पले पेट्रोलियम पदार्थको अभाव देखाउन नहुने बताउनुभयो ।
‘ताप्लेजुङलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ जति पनि सहज ढङ्गबाट आपुर्ति हुन सक्छ, हामीसँग अहिले चारआलीमा पेट्रोलियम पदार्थ प्रसस्त रहेको छ तर किन पाथीभरा आयल सप्लायर्सले लगिरहेको छैन, यस सम्बन्धमा बुझ्छु’–उहाँले भन्नुभयो ।
सदरमुकाम फुङलिङमा यसरी खुलेआम कालोबजारी भईरहे पनि स्थानीय सरकार लगायतले चासो नदेखाएकोमा स्थानीयको गुनासो छ ।









