१० वैशाखमा बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका थिए ।
तर, उम्मेदवारी दिनुअघिल्लो दिन बिहीबार (आज) बसेको स्थायी कमिटीको बैठकले पनि बादललाई उम्मेदवार बनाउने विषयमा औपचारिक निर्णय गरेन । यसले प्रधानमन्त्री ओली आफ्नो निर्णयबाट पछाडि हट्ने संकेत देखिएको छ ।
एमालेइतरका विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएपछि बादलले जित्ने सम्भावना कमजोर देखियो । एमाले सग्लो भइदिएको भए कांग्रेस, माओवादीसहित साना दलहरू मिल्दा पनि एमालेले उम्मेदवारकै मतभार धेरै हुन्थ्यो ।
तर, अहिले एमालेको असन्तुष्ट पक्ष माधव नेपाल पक्षका उम्मेदवारलाई माओवादी र कांग्रेसले समर्थन गरेपछि एमालेको मतभार झण्डै आधाले घट्नेछ । त्यसो हुनेबित्तिकै आफ्ना उम्मेदवार पराजित हुने आकलन गरेर एमालेले बादललाई उम्मेदवार नबनाउने लाइन लिएको छ । बादलनिकट स्रोतका अनुसार औपचारिक निर्णय त भइसकेको छैन तर बादलको उम्मेदवार हुने सम्भावना कम छ ।
सग्लो एमालेसँग प्रदेश र स्थानीय तहको मतभार जोड्दा एमालेको ५१३० हुन आउँछ । कांग्रेसको २२६२, माओवादी केन्द्रको १७००, विवेकशील साझाको १४४, राप्रपा र नेमकिपाको १३२-१३२ तथा जसपाको ६६ मतभार हुन्छ ।
त्यसरी हिसाब गर्दा एमाले उम्मेदवार बादलसँग ५१३० मतभार हुन्छ भने विपक्षी गठबन्धन कांग्रेस, माओवादी र जसपासँग ४०२८ मतभार मात्रै हुन्छ । विवेकशील साझा, राप्रपा र नेमकिपाको पनि विपक्षी गठबन्धनमा थपिएको अवस्थामा ४३८८ मतभार हुन्छ । तर, राप्रपा र नेमकिपा एमालेसँग निकट देखिएकाले त्यो मत एमालेमा थपिँदा ५३९४ मतभार हुन्छ । र, विपक्षी गबठन्धनको मतभार घट्छ ।
यद्यपि विवेकशील साझाको मत विपक्षी गठबन्धनमा कायम रहेको अवस्थामा ४१७० मतभार हुन्छ । यति हुँदा पनि एमाले उम्मेदवार बादल नै बलियो देखिन्छन् । तर, देवकोटाका लागि एमालेको नेपाल समूहका २२ जना प्रदेशसभाको मतभार १०५६ मात्रै थपिँदा पनि देवकोटाको पक्षमा ५२२६ मत हुन्छ । र, एमालेको मतभार घटेर ४३३८ मात्रै हुन्छ ।
त्यस्तो अवस्थामा एमालेभित्र नेपाल समूहका स्थानीय तहमा प्रमुख र उपप्रमुखले देवकोटाको पक्षमा मतदान नगर्दा पनि उनी बलियो देखिन्छन् । तर, नेता नेपालनिकट स्थानीय तहमा प्रमुख र उपप्रमुखले पनि देवकोटाको पक्षमा मतदान गर्ने भएकाले मतभार अझ बढ्नेछ । र, एमालेको मतभार घट्नेछ । यसले एमालेका उम्मेदवार बादललाई स्वतः पराजित गराउनेछ ।
Shilapatra







