काठमाडौँ । विहिबार नेपालमा करिब ५ हजार नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना महामारी नियन्त्रण गर्न देशका १५ जिल्लामा निषेधाज्ञा लगाइएको दिन उक्त परिणाममा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी ८८ जना संक्रमण मुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । यो हालसम्मकै धेरै दैनिक मृत्यु हो । यसअघि नेपालमा गत वर्षको कार्तिक १९ गते ३० जनाको निधन भएको थियो। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।
१२ हजार ५९७ पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।
यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार १ सय २७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना संक्रमित थपिएका हुन् । देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ।







