असोज ३, ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताले खेलसँगै आर्थिक गतिविधिमा पनि उल्लेख्य प्रभाव पारेको छ । प्रतियोगिताका क्रममा गेट तथा प्याकेज टिकट बिक्रीबाट मात्रै ५२ लाख ९६ हजार ९४८ रुपियाँ सङ्कलन भएको छ ।

लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा दर्शकको सहभागिता बढेसँगै टिकट बिक्रीबाट ठूलो रकम सङ्कलन भएको हो । आयोजक लाखेजात्रा सञ्चालन समितिले शनिबार तोक्मेडाँडामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै टिकट बिक्रीको विवरण सार्वजनिक गरेको हो ।

समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार गेट टिकटतर्फ ३८ लाख २८ हजार ६५० रुपियाँ र प्याकेज टिकटतर्फ १४ लाख ८६ हजार २९८ रुपियाँ सङ्कलन भएको छ ।

प्रतियोगिताका खेलहरूमा फाइनलतर्फ दर्शकको आकर्षण अझ बढी देखिएको छ । क्वार्टरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २०० रुपियाँ, सेमिफाइनलका दुई खेलबाट छ लाख पाँच हजार ७०० रुपियाँ र फाइनल खेलबाट २० लाख ३३ हजार रुपियाँ टिकट बिक्री भएको आयोजकले जनाएको छ ।

क्वार्टरफाइनलमा दुई सय, सेमिफाइनलमा तीन सय र फाइनलमा पाँच सय रुपियाँ टिकट दर निर्धारण गरिएको थियो । प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि न्यूनतम् तीन हजार रुपियाँको प्याकेज टिकटसमेत बिक्री गरिएको थियो ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदप्रतिको आकर्षणसँगै दर्शकको सहभागिता र आर्थिक गतिविधि बढाउनसमेत सहयोग गरेको छ ।

यस वर्षको प्रतियोगिताको विजेता सलहेश युवा क्लब सिराहा बनेको थियो भने फिदिम स्पोर्टिङ क्लब पाँचथर उपविजेता बनेको थियो । भारतसहित आठ टोली सहभागी प्रतियोगिता भदौ १२ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतियोगितामा विजेताले सात लाख दुई हजार ८३ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कार प्राप्त गरेका थिए । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!