ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा–११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
झापा–११ को जितसँगै ताप्लेजुङ गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र झापा–११ तथा सलहेश युवा क्लब सिराहा र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई बजाज मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा ‘म्यान अफ द म्याच’लाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी, टिकट काटेर खेल हेर्ने दर्शकमध्ये भाग्यशाली एक जनाले टीभीएस कम्पनीको नयाँ स्कुटर उपहार पाउनेछन्।







