ताप्लेजुङ। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आज चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिस्पर्धा हुँदैछ।
फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा हुने खेलमा दुवै टोली सेमिफाइनल प्रवेशका लागि मैदान उत्रिँदैछन्।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक–११ ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
भदौ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। आगामी खेलतर्फ आइतबार सातदोबाटो फुटबल क्लब र साविक विजेता सलहेश युवा क्लब सिराहा तथा सोमबार झापा–११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो।
लाखेजात्राको अवसरमा हरेक वर्ष हुँदै आएको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको हो।
🏆 पुरस्कार राशिसमेत आकर्षक राखिएको छ। प्रतियोगिताको विजेताले रु. ७ लाख २ हजार ८३ र उपविजेताले रु. ३ लाख ५२ हजार ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल प्रदान गरिने कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो। विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
🎁 दर्शकका लागि पनि विशेष आकर्षण! टिकट काटेर खेल हेर्नेमध्ये भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनीको नयाँ स्कुटर उपहार पाउने आयोजकले जनाएको छ।







