ताप्लेजुङमा काउण्टर तोडफोड गरी नगद तथा अन्य सामग्री चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–४ का १९ वर्षीय इन्सान लिम्बु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार लिम्बुले गत सोमबार राति फुङ्लिङस्थित तोक्मे बसपार्कमा रहेको मेवा ताप्लेजुङ यातायात सेवा प्रालिको काउण्टर तोडफोड गरी नगद ६० हजार रुपैयाँसहित विभिन्न सामग्री चोरी गरेका थिए।
घटनापछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। सीसीटीभी फुटेजलगायतका आधारमा गरिएको अनुसन्धानका क्रममा लिम्बुले नगदसँगै एटीएम कार्ड र हेल्मेटसमेत चोरी गरेको खुलेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो।
प्रहरीले लिम्बुलाई मंगलबार नै नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका लिम्बुमाथि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।







