ताप्लेजुङ । भदौ १२ देखि १९ गतेसम्म सञ्चालन हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन आयोजक लाखेजात्रा सञ्चालन समितिले खेल मैदान व्यवस्थापन, अस्थायी प्यारापिट निर्माण तथा आयोजक टोलीका खेलाडी छनोटको कामलाई तीव्रता दिएको हो।
आयोजक समितिले साउन १८ र १९ गते सञ्चालन गरेको छनोट खेलका आधारमा आयोजक टोलीका लागि १७ खेलाडी छनोट गरेको छ। समितिका अध्यक्ष सागर मादेनका अनुसार छनोट उपसमितिले खेलाडीको अन्तिम सूची सार्वजनिक गरिसकेको छ।
जिल्ला फुटबल संघका प्रशिक्षकसमेत रहेका देवकुमार मादेनका अनुसार आयोजक टोलीबाट सागर श्रेष्ठ, प्रनिस गुरुङ, भाइचुङ शेर्पा, नवीन खवास, सुनुयोजित यक्सो, सञ्जुहाङ साँवा, सविन तामाङ, सविन लिम्बू, शिशिर राई, मञ्जित लिम्बू, विवेक मादेन, पवन लिम्बू, पासाङ शेर्पा, दीपेश लिम्बू र सुहाङ लिम्बू छनोट भएका छन्। खेलाडी छनोट उपसमितिमा देवकुमार मादेन, सन्तोष गुरुङ, रमेश चोङबाङ र दीपेश आङबुहाङ रहेका थिए।
प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितालाई लक्षित गर्दै करिब तीन महिनादेखि मैदानको संरक्षण गरिएको छ भने हाल घाँसे मैदानको व्यवस्थापन र अन्तिम तयारी भइरहेको छ। मैदानमा करिब पाँच हजार दर्शक अट्ने क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माण कार्यसमेत तीव्र गतिमा अघि बढिरहेको आयोजकका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए।
यस वर्षको प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजकको भनाइ छ। पाँचथर, इलाम, काठमाडौंको सातदोबाटो क्लब र सहलेस क्लब सिराहाको सहभागिता सुनिश्चित भइसकेको छ भने भारत र भुटानका टोलीसँग अन्तिम समन्वय भइरहेको अध्यक्ष मादेनले बताए।
प्रतियोगिताको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा वृद्धि गरिने तयारी गरिएको छ। गत संस्करणमा विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गरेका थिए। यस वर्ष पनि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटरमध्ये एक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
खेलकुदसँगै पर्यटन प्रवर्द्धनलाई जोड दिने उद्देश्यले यस वर्ष प्रतियोगिताको खेलतालिका फक्ताङलुङ गाउँपालिका–७ स्थित समुद्री सतहबाट करिब ४,८०० मिटर उचाइमा रहेको स्याम्दो पोखरीबाट सार्वजनिक गर्ने तयारी गरिएको छ।
यस्तै, सम्पूर्ण खेल अवलोकन गर्न मिल्ने प्रतिव्यक्ति तीन हजार रुपैयाँको टिकट प्याकेज बिक्रीसमेत सुरु भइसकेको आयोजकले जनाएको छ। पहाडी क्षेत्रमा सर्वाधिक दर्शक आकर्षित गर्ने फुटबल प्रतियोगितामध्ये एक मानिने ताप्लेजुङ गोल्डकपलाई यस वर्ष अझ व्यवस्थित, आकर्षक र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ तयारीलाई अन्तिम रूप दिइएको अध्यक्ष मादेनले बताए।







