ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आफूले पाउने मासिक पारिश्रमिक अभिभावकविहीन, असहाय तथा अति विपन्न बालबालिकाको शिक्षा र संरक्षणका लागि समर्पण गर्नुभएको छ।

अध्यक्ष लिम्बूले आफ्नो मासिक ४३ हजार रुपैयाँ पारिश्रमिक फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसन मार्फत नियमित रूपमा जम्मा गराउँदै आउनुभएको हो। उक्त रकम आर्थिक रूपमा कमजोर बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास, खानपान तथा अन्य आधारभूत आवश्यकतामा खर्च गरिने उहाँले जानकारी दिनुभयो।

अध्यक्ष लिम्बूका अनुसार गत आर्थिक वर्षमा फाउण्डेसनमार्फत एक अभिभावकविहीन विद्यार्थीको शिक्षा, आवास र खानपानको सम्पूर्ण व्यवस्थापन गरिएको थियो। ती विद्यार्थीले पछि विद्यालय छाडेपछि यस वर्षदेखि पालिकाभित्र रहेका अपाङ्गता भएका, अभिभावकविहीन, असहाय तथा अति विपन्न विद्यार्थीलाई लक्षित गरी सहयोग कार्यक्रमलाई थप प्रभावकारी बनाइने योजना रहेको उहाँले बताउनुभयो।

“आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुनु हुँदैन। यही विश्वासका साथ मैले आफ्नो पारिश्रमिक सामाजिक सेवामा समर्पण गर्ने निर्णय गरेको हुँ,” अध्यक्ष लिम्बूले भन्नुभयो। आवश्यकता अनुसार अभिभावकविहीन बालबालिकाका लागि आवास र खानाको व्यवस्थासमेत गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

गाउँपालिकाका सूचना अधिकारी जय रिजाल का अनुसार अध्यक्ष लिम्बूले पाउने पारिश्रमिक सोझै फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसनको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ।

सामाजिक उत्तरदायित्वप्रति जनप्रतिनिधिको यस्तो पहलले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका बालबालिकाको भविष्य सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले अध्यक्ष लिम्बूको यस निर्णयलाई अनुकरणीय र प्रेरणादायी कदमका रूपमा लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!