नियमित तालिका भए पनि न्यून यात्रु र प्रतिकूल मौसमका कारण हुन सकेन उडान

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा सञ्चालन हुन सकेको छैन। नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले गत जेठ २२ गते अन्तिम उडान गरेयता यात्रु अभाव र प्रतिकूल मौसमका कारण सेवा अवरुद्ध बनेको हो।

निगमले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार नियमित उडान तालिका निर्धारण गरे पनि अधिकांश उडान तालिकाअनुसार सञ्चालन हुन सकेका छैनन्। सुकेटार स्टेसनका इन्चार्ज नारायण कार्कीका अनुसार कहिले मौसम प्रतिकूल बन्छ भने कहिले आवश्यक सङ्ख्यामा यात्रु नपुग्दा उडान रद्द हुने गरेको छ।

शुक्रबार पनि उडानको तयारी गरिए तापनि दुवैतर्फबाट आवश्यक यात्रु सङ्ख्या नपुगेपछि उडान अन्योलमा परेको थियो। ताप्लेजुङबाट तीन जनाले टिकट लिए पनि काठमाडौँबाट एक जना पनि यात्रु नभएको कार्कीले जानकारी दिनुभयो। निगमको व्यवस्थाअनुसार उडान सञ्चालनका लागि काठमाडौँ र ताप्लेजुङ दुवैतर्फ कम्तीमा पाँच–पाँच जना यात्रु हुन आवश्यक पर्छ।

नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले काठमाडौँबाट बालबालिकासहित १३ जना तथा ताप्लेजुङबाट १५ जनासम्म यात्रु बोक्न सक्छ। करिब ५५ मिनेटमा काठमाडौँ–सुकेटार यात्रा पूरा हुने भए पनि पछिल्लो समय बढ्दो हवाई भाडाका कारण यात्रुको आकर्षण घट्दै गएको सरोकारवालाहरू बताउँछन्।

हाल काठमाडौँ–सुकेटार उडानको भाडा ११ हजार ८०५ रुपैयाँ र सुकेटार–काठमाडौँको ११ हजार ६०५ रुपैयाँ कायम छ। इन्धनको मूल्यवृद्धिअघि यही रुटको भाडा करिब ६ हजार ४ सय रुपैयाँ थियो। इन्धनको मूल्य बढेसँगै भाडा १२ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। पछिल्लो मूल्य समायोजनपछि केही घटे पनि भाडा अझै सर्वसाधारणको पहुँचभन्दा माथि रहेकाले यात्रु सङ्ख्या प्रभावित भएको निगमले जनाएको छ।

स्थानीयवासीले सुकेटार विमानस्थलमा नियमित र भरपर्दो हवाई सेवा सञ्चालन गर्न तथा हवाई भाडालाई सर्वसुलभ बनाउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!