ताप्लेजुङ। जिल्ला हुलाक कार्यालय ताप्लेजुङ र पाथिभरा क्षेत्र विकास समितिबीच सम्पन्न भएको “पाथिभरा मन्दिरको प्रसाद वितरण” सम्बन्धी समझदारीपत्र (MOU) कार्यान्वयनमा आएको छ।
समझदारी कार्यान्वयनसँगै पहिलो चरणमा पाथिभरा मन्दिरको पवित्र प्रसाद जनकपुर पठाइएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जनकपुरका प्रमुख जिल्ला अधिकारीलाई हुलाक सेवामार्फत प्रसाद प्रेषण गरी अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो।
हुलाक सेवामार्फत पाथिभरा मन्दिरको प्रसाद देशका विभिन्न जिल्लासम्म सहज रूपमा पुर्याउने उद्देश्यका साथ यो अभियान सुरु गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ। यसबाट पाथिभरा मन्दिर पुग्न नसक्ने श्रद्धालुहरूले समेत घरदैलोमै प्रसाद प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।
सम्बन्धित निकायका अनुसार यो सेवा आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउँदै देशभर विस्तार गरिने योजना रहेको छ।







