ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङलाई नियन्त्रण गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका सहायक हवल्दार सुवास काम्बाङका अनुसार नयाँ व्यवस्थाअनुसार बुद्धचोकबाट तोक्मेतर्फ जाने सवारीसाधनले तोक्मे हाट हुँदै बजारबाट बाहिरिनुपर्नेछ। त्यस्तै, तोक्मेबाट आउने सवारीसाधनले दोबाटो हुँदै बजार प्रवेश गर्नुपर्नेछ।
यसैगरी, दोबाटोबाट कोप्चे हुँदै वीरेन्द्रचोकतर्फ जान सकिनेछ भने वीरेन्द्रचोकबाट कोप्चेतर्फ फर्किन भने रोक लगाइएको छ।
बजार क्षेत्रको सवारी आवागमनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले लागू गरिएको उक्त नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई प्रचलित कानुनअनुसार जरिवानासहित कारबाही गरिने जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले नयाँ व्यवस्थालाई प्रभावकारी बनाउन सवारी चालकलाई तोकिएको मार्ग प्रयोग गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।







