ताप्लेजुङ । चौतर्फी आलोचनापछि अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको चौथो संस्करणका लागि तोकिएको टिकट शुल्क घटाइएको छ।

लाखेजात्रा सञ्चालन समितिले यसअघि क्वाटरफाइनलका लागि रु. ३००, सेमिफाइनलका लागि रु. ५०० र फाइनलका लागि रु. १ हजार टिकट शुल्क निर्धारण गरेको थियो। सामाजिक सञ्जालसहित जिल्लावासीबाट टिकट शुल्क महँगो भएको भन्दै आलोचना भएपछि आयोजकले नयाँ दर सार्वजनिक गरेको हो।

नयाँ दरअनुसार क्वाटरफाइनलको टिकट रु. २००, सेमिफाइनलको रु. ३०० र फाइनलको रु. ५०० कायम गरिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो।

अध्यक्ष मादेनले समितिको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा टिकट शुल्क समायोजन गरिएको बताउनुभएको छ।

टिकट बिक्री गोल्डकपको आम्दानीको महत्वपूर्ण स्रोत मानिन्छ। गत वर्ष टिकट बिक्रीबाट मात्रै रु. ३० लाखभन्दा बढी रकम संकलन भएको आयोजकले जनाएको छ। गत वर्ष क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका टिकट क्रमशः रु. १००, रु. २०० र रु. २५० मा बिक्री गरिएको थियो।

यस वर्षको प्रतियोगिता आगामी भदौ १२ गतेदेखि सञ्चालन हुँदैछ। ताप्लेजुङको एक टोलीसहित आठ टोलीको सहभागिता रहने प्रतियोगितामा प्रतिष्ठित क्लबहरू सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि सुविधासम्पन्न रंगशाला अभाव अर्को चुनौती बनेको छ। स्थायी रंगशाला नहुँदा दर्शक व्यवस्थापनका लागि हरेक वर्ष बाँसको अस्थायी प्याराफिट निर्माण गर्नुपर्ने अवस्था रहेको समितिले जनाएको छ।

गोल्डकपको विजेताले रु. ७ लाख २ हजार ८२ तथा उपविजेताले रु. ३ लाख ५० हजार ८२ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

खेलकुदसँगै जिल्लाको पर्यटन प्रवर्द्धनलाई समेत जोड दिइएको प्रतियोगिताको खेल तालिका यस वर्ष फक्ताङलुङ गाउँपालिका–७ स्थित करिब ५ हजार ३०० मिटर उचाइमा रहेको स्याम्दो पोखरीबाट सार्वजनिक गर्ने तयारी गरिएको अध्यक्ष मादेनले बताउनुभयो। गत वर्ष खेल तालिका पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको थियो।

आयोजकका अनुसार चौथो संस्करणको गोल्डकप सञ्चालन गर्न करिब रु. ९९ लाख खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!