१० असार, ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६, चप्लेटी मा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।
मंगलबार स्थानीय कुलबहादुर गुरुङको घर नजिक रहेको मतानमा आगलागी भएको हो। वडा अध्यक्ष मदन गुरुङ (तेज) का अनुसार आगलागीबाट मतानमा भण्डारण गरेर राखिएको करिब १५ मुरी आलु, एक मुरी तोरी तथा काठपात पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
जस्तापाता तथा ढुङ्गा–माटोले बनेको उक्त मतानको छेउमा पशुचौपायाका लागि कुडो पकाउने क्रममा आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। आगो तीव्र रूपमा फैलिँदा मतानभित्र राखिएका कृषि उपज र अन्य सामग्रीमा क्षति पुगेको जनाइएको छ।
आगलागीको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, फुङ्लिङ नगरपालिकाको दमकल तथा स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा लिएकाले मानवीय तथा थप भौतिक क्षति हुन नपाएको वडा अध्यक्ष गुरुङले बताउनुभयो।
घटनाबारे थप विवरण संकलन तथा क्षतिको यथार्थ मूल्याङ्कन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।







