२४ जेठ,ताप्लेजुङ। पाथीभरा केबलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार बृहत् सद्भाव र्याली निकालिएको छ।
‘विकासप्रेमी युवा समाज’को आयोजनामा सम्पन्न र्यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
फुङ्लिङ बजार परिक्रमा गरेको र्याली वीरेन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै वक्ताहरूले पाथीभरा केबलकार परियोजनाले धार्मिक पर्यटनको प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए।
उनीहरूले केबलकार यातायातको साधन मात्र नभई समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकाससँग जोडिएको महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गर्दै निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले जलविद्युत्, सडक तथा केबलकारजस्ता विकास आयोजनाले ताप्लेजुङ मात्र नभई कोशी प्रदेश र समग्र देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने भएकाले विकास निर्माणका कार्यमा अनावश्यक अवरोध सिर्जना गर्न नहुने धारणा व्यक्त गरे।
परियोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा काम रोक्नु उपयुक्त नहुने उल्लेख गर्दै सहभागीहरूले निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका थिए।
दशकौँदेखि चर्चामा रहेको पाथीभरा देवी मन्दिरसम्म पुग्ने केबलकार परियोजनाले केही वर्षअघि आइएमई समूहको नेतृत्व पाएपछि निर्माणको गति लिएको हो। निर्माण पक्षका अनुसार हालसम्म परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ।
हाल परियोजनाको निर्माण कार्य स्थगन हुन सक्ने चर्चा चलिरहेका बेला निर्माणलाई निरन्तरता दिनुपर्ने मागसहित सद्भाव र्याली आयोजना गरिएको आयोजकले जनाएको छ।







