२१ जेष्ठ,ताप्लेजुङ । पाथीभरा–मुक्कुम्लुङ केवलकार परियोजनाको पक्षमा आइतबार ताप्लेजुङमा बृहत् शान्ति र्याली आयोजना गरिने भएको छ। फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले विकास, पर्यटन प्रवर्द्धन र जिल्लाको समृद्धिको पक्षमा जनमत प्रदर्शन गर्न शान्तिपूर्ण र्याली आयोजना गर्न लागिएको बताएका छन्।
मेयर मादेनका अनुसार केवलकार परियोजना ताप्लेजुङको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग जोडिएको विषय भएकाले यसको पक्षमा व्यापक जनसमर्थन देखिएको छ। उनले आइतबारको र्याली विकास, समृद्धि र शान्तिको पक्षमा जनमत अभिव्यक्त गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरे।
“ताप्लेजुङलाई विकासबाट वञ्चित गर्न पाइँदैन। जिल्लाको समृद्धिका लागि आवश्यक पूर्वाधार निर्माणलाई अगाडि बढाउनुपर्छ,” मेयर मादेनले भने, “नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शिक्षकहरू पनि र्यालीमा सहभागी हुने अपेक्षा गरिएको छ। विकास र समृद्धिको अभियानमा सबै क्षेत्रको साथ आवश्यक छ।”
उनले बन्द गरिएको निर्माणाधीन क्षेत्र तत्काल खुला गरी निर्माण कार्य पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै असहमति भए संवादमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे।
यसैबीच, केवलकार परियोजनाको विरोधमा रहेका पक्षहरूले भने आफ्नो आन्दोलन जारी रहने बताएका छन्। उनीहरूले सांस्कृतिक, धार्मिक तथा वातावरणीय सरोकारलाई सम्बोधन नगरी परियोजना अघि बढाउन नहुने अडान दोहोर्याएका छन्।
पाथीभरा–मुक्कुम्लुङ केवलकार परियोजनालाई लिएर ताप्लेजुङमा समर्थन र विरोध दुवै पक्ष सक्रिय रहँदा आइतबार हुने भनिएको शान्ति र्यालीलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ।







