ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन, प्रवर्द्धन र प्रायोजनका लागि राखिएका होर्डिङ बोर्ड हटाउन थालिएको छ ।
विश्व धुम्रपानरहित दिवसको अवसरमा स्वास्थ्य कार्यालय ताप्लेजुङको संयोजनमा आइतबार गरिएको अनुगमनका क्रममा यस्ता विज्ञापन सामग्री हटाइएको हो । अनुगमन टोलीले मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री गर्ने पसलहरूको निरीक्षण गर्नुका साथै सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन भए–नभएको विषयमा पनि निगरानी गरेको जनाएको छ ।
सुर्तिजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी निर्देशिका, २०७१ अनुसार सुर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन तथा प्रवर्द्धन हुने सामग्री राख्न नपाइने व्यवस्था रहेको भन्दै व्यवसायीलाई यस्ता सामग्री तत्काल हटाउन आग्रह गरिएको छ ।







