ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिताले परम्परागत प्रतिस्पर्धालाई नयाँ आयाम दिएको छ। पाथीभरा क्षेत्र विकास समितिको आर्थिक सहयोग र स्ववियु पाथीभरा बहुमुखी क्याम्पसको आयोजनामा भएको प्रतियोगितामा सहभागीहरूले मञ्चमा होइन, सामाजिक सञ्जालमा आफ्ना प्रस्तुति सार्वजनिक गरेका थिए।
“पाथीभरा देवी – श्रद्धा, संस्कृति र पर्यटनको केन्द्र” शीर्षकमा केन्द्रित प्रतियोगितामा निर्णायक मण्डलको मूल्यांकनसँगै सामाजिक सञ्जालको प्रतिक्रियाले पनि महत्वपूर्ण भूमिका खेलेको थियो। प्राप्त लाइक, कमेन्ट, सेयर र भ्युजका आधारमा ४० प्रतिशत अंक निर्धारण गरिएको थियो। यसले युवाहरूलाई डिजिटल माध्यममा सिर्जनात्मक रूपमा प्रस्तुत हुन प्रोत्साहित गरेको देखिन्छ।
प्रतियोगितामा करिब ३० जना सहभागी भएका थिए। प्रतिस्पर्धामा विद्वता पोखरेल प्रथम, टेरिसा गुराँगाई द्वितीय, अरुणा कडरिया तृतीय र सिकुम लिम्बू सान्त्वना स्थान हासिल गर्न सफल भए। विजेताहरूले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्राप्त गरेका छन्।
कार्यक्रम पाथीभरा बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ तथा क्याम्पस प्रमुख सजन पौडेललगायतले पुरस्कार वितरण गरेका थिए।
डिजिटल माध्यममार्फत आयोजना गरिएको यस प्रतियोगिताले ग्रामीण जिल्लामा पनि प्रविधि प्रयोग गर्दै सिर्जनशील प्रतिस्पर्धाको अभ्यास सम्भव भएको सन्देश दिएको छ।







