ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँका मतदाता आफ्ना दैनिक समस्यालाई केन्द्रमा राखेर उम्मेदवारसँग सिधा संवाद गर्न थालेका छन्। घरदैलो अभियानमा पुगेका उम्मेदवारसँग मतदाताले सडक, खानेपानी, स्वास्थ्य सेवा र रोजगारीलाई मुख्य एजेन्डाका रूपमा उठाइरहेका छन्।
जिल्लामा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न दलका उम्मेदवार गाउँ–बस्तीमा पुगेर मत मागिरहेका छन्। उम्मेदवारहरू कार्यकर्तासहित मतदाताको घरदैलोमा पुग्दा स्थानीयले वर्षौंदेखि समाधान हुन नसकेका पूर्वाधार र सेवासम्बन्धी समस्याबारे प्रश्न गरिरहेका छन्।
ग्रामीण क्षेत्रका मतदाताले विशेषगरी दुर्गम बस्तीमा सडक पहुँच, सुरक्षित खानेपानी, गुणस्तरीय स्वास्थ्य सेवा र युवालाई गाउँमै रोजगारीको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन्। “भोट माग्न मात्रै होइन, जितेपछि काम पनि देखिनुपर्छ,” भन्ने आवाज घरदैलो अभियानमा बारम्बार सुनिन थालेको छ।
चुनावी सरगर्मी बढेसँगै ताप्लेजुङमा यसपटक उम्मेदवारको लोकप्रियता भन्दा पनि कसले स्थानीय समस्यालाई प्राथमिकतामा राख्छ भन्ने विषय मतदाताको रोजाइको मुख्य आधार बन्दै गएको देखिन्छ।







