ताप्लेजुङ । पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित पाथीभरा देवी मन्दिर आस्था, विश्वास र धार्मिक पर्यटनको एक प्रमुख केन्द्रका रूपमा चिनिन्छ। समुन्द्री सतहदेखि करिब ३ हजार ७९४ मिटर उचाइमा अवस्थित यो शक्तिपीठमा मनोकामना पूरा हुने जनविश्वासका कारण वर्षैभरि भक्तजनको घुइँचो लाग्ने गर्छ।
विशेषगरी माघ लागेपछि पाथीभरा दर्शन गर्ने श्रद्धालुको संख्या उल्लेख्य रूपमा बढेको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार माघ लागेदेखि हालसम्म ८ हजार ३३३ जनाले पाथीभराको दर्शन गरेका छन्। माघे संक्रान्तिपछि भाकल फुकाउने, नयाँ कार्यको सुरुवात अघि देवीको आशिर्वाद लिने चलनका कारण भक्तजनको आगमन बढेको हो।
नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतको सिक्किम, पश्चिम बंगाललगायत क्षेत्रबाट समेत श्रद्धालुहरू पाथीभरा आउने गरेका छन्। पछिल्ला वर्षहरूमा सडक पहुँच विस्तार,भरिया सेवा र पूर्वाधार सुधारले गर्दा वृद्धवृद्धा र अपांगता भएका व्यक्तिका लागि पनि दर्शन सहज बन्दै गएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार दर्शनार्थीको सुरक्षाका लागि स्वयंसेवक परिचालन, स्वास्थ्य सहायता, सरसफाइ र आवास व्यवस्थापनमा विशेष ध्यान दिएको बताउयो। भीड व्यवस्थापन र सहज दर्शनका लागि सुरक्षाकर्मीको उपस्थिति समेत बढाइएको छ।
धार्मिक आस्थासँगै पाथीभरा क्षेत्र स्थानीय अर्थतन्त्रको मेरुदण्ड बन्दै गएको छ। होटल, लज, यातायात, पसल र स्थानीय उत्पादनको बिक्रीबाट यहाँका बासिन्दाले रोजगारी र आयको अवसर पाएका छन्। स्थानीय युवाहरू गाइड, होटल व्यवसाय र यातायात सेवामा आबद्ध हुँदै आएका छन्।
आस्था, प्रकृति र संस्कृतिको अनुपम संगम पाथीभरा आज केवल मन्दिर मात्र नभई ताप्लेजुङको पहिचान र गौरव बनेको छ। भक्तजनको बढ्दो आगमनसँगै यसको संरक्षण, व्यवस्थापन र दिगो विकासमा सरोकारवालाको ध्यान अझ आवश्यक देखिन्छ।
त्यस्तौ पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा संकलन भएको भेटी सार्वजनिक हरेक महिना गर्ने गरेको छ। समितिका अनुसार आर्थिक वर्ष ०८१/८२ को पौष महिनामा विभिन्न मितिमा नेपाल बैंक लिमिटेडमार्फत जम्मा गरिएको कुल रकम २४ लाख २५ हजार रुपैयाँ रहेको छ। सो अवधिमा पाथीभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको संख्या ५५,९९१ रहेको समितिले जनाएको छ।







