ताप्लेजुङ । नेपाली काङ्ग्रेस मिक्वाखोला गाउँपालिका कमिटीले बुधबार गाउँपालिकामा ताला लगाएपछि स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कर्मचारी बर्खास्ती, अनियमितता तथा भ्रष्टाचारको आरोप लगाउँदै काङ्ग्रेसले गाउँपालिकामा कोण सभा गरी ताला बन्दी गरेको हो। ताला बन्दीपछि नागरिकता सिफारिस, योजना सम्झौता, भुक्तानीलगायतका प्रशासनिक सेवा ठप्प भएका छन्।
प्रमुख प्रशासकीय अधिकृत बिमल गौतका अनुसार गाउँपालिकामा ताला लागेपछि कार्यालय सञ्चालन गर्न नसकिएको र सेवाग्राहीहरू प्रत्यक्ष प्रभावित भएका छन्। “ताला नखुलेसम्म नियमित सेवा दिन सम्भव छैन,” उहाँले बताउनुभयो।
काङ्ग्रेस मिक्वाखोला गाउँपालिका कमिटीले यसअघि नै पालिका अध्यक्ष र उपाध्यक्षलाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको दाबी गरेको छ। पार्टीले बिना कसुर कर्मचारीलाई हटाइएको, विकास योजनामा पारदर्शिता नदेखिएको र सामाजिक उत्तरदायित्व बजेटमा अनियमितता भएको आरोप लगाएको छ।
काङ्ग्रेस गाउँपालिका उपसभापति दिपेन्द्र लिम्बुका अनुसार वार्ता र संवाद नगरी ताला तोडिए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइनेछ।
स्थानीयवासीले भने ताला बन्दीका कारण दैनिक कामकाज प्रभावित भएको गुनासो गरेका छन्।







