ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ताप्लेजुङमा निर्वाचन आचार संहिताको कडाइका साथ अनुगमन थालिएको छ। जिल्ला निर्वाचन कार्यालयले आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि दुई जना अनुगमन अधिकृत तोकेको छ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई र कोष नियन्त्रक यमनाथ गिरीलाई आचार संहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो। उनीहरूले जिल्लाभर निर्वाचन आचार संहिताको पालना भए–नभएको निगरानी गर्नेछन्।

अनुगमन कार्यमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले समेत संयुक्त रूपमा सूक्ष्म निगरानी गर्ने जनाइएको छ। आचार संहिता उल्लङ्घन भएको पाइएमा सम्बन्धित कार्यालयहरूमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ। साथै अनुगमन अधिकृत यादव भट्टराई (९८५२६६०२७०) र यमनाथ गिरी (९८५२०३७९९९) लाई प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी दिन सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले गत पुस १२ गते नेपाल राजपत्रमार्फत निर्वाचन आचार संहिता २०८२ प्रकाशित गरी कार्यान्वयनमा ल्याइसकेको छ।

आचार संहिताले भ्रामक सूचना प्रवाह, घृणात्मक अभिव्यक्ति, जाति, धर्म, लिङ्ग, उमेर, अपाङ्गता वा अन्य पहिचानका आधारमा असहिष्णुता फैलाउने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ।
त्यसैगरी निर्वाचनका क्रममा वातावरणमैत्री सामग्री प्रयोग गर्नुपर्ने, जैविक रूपमा नष्ट नहुने तथा वातावरणमा हानि पुर्‍याउने सामग्री प्रयोग नगर्नुपर्ने उल्लेख छ।

सामाजिक सञ्जालको दुरुपयोग, निर्वाचन चिन्ह अंकित कपडा तथा सामग्रीको प्रयोग, बालबालिकालाई प्रचारप्रसारमा प्रयोग गर्ने कार्य, चरित्र हत्या, मानहानी तथा व्यक्तिगत लाञ्छनायुक्त सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न पनि आचार संहिताले निषेध गरेको छ।

जिल्ला निर्वाचन कार्यालयले सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिकलाई आचार संहिताको पूर्ण पालना गरी निर्वाचनलाई मर्यादित र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!