ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा इजाजत प्राप्त गरी प्रयोगमा ल्याइएका हातहतियार तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै २०८२ फागुन २९ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासनबाट विभिन्न किसिमका हातहतियार प्रयोग गर्न अनुमति दिइएको जनाउँदै अब ती हातहतियार फिर्ता बुझाउनुपर्ने जनाएको हो।
सूचनाअनुसार निर्वाचन कार्य सम्पन्न भएको एक महिनापछि, अर्थात् २०८२ चैत २० गतेभित्र सम्बन्धित व्यक्तिहरूले आफूलाई पायक पर्ने नजिकको प्रहरी इकाइमार्फत जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा सम्पूर्ण हातहतियार बुझाउनुपर्नेछ।
तोकिने समयभित्र हातहतियार नबुझाएमा कानुनी कारबाही हुन सक्ने भएकाले सम्बन्धित सबैलाई समयमै बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।








