माघ ३, ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा वसन्त पञ्चमीको अवसर पारेर आयोजना हुन लागेको प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप ले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रगतिशील युवा क्लब लिङ्तेपको आयोजनामा प्रतियोगिता माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ।
स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै मेरिङ्देन क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल माघ ९ गते आयोजक प्रगतिशील युवा क्लब निलो र लालिमा युवा क्लब ढुङ्गेसाँघुबीच हुनेछ।
माघ १० गते आयोजक टोलीले मानाभारा युवा क्लब खेजेनिमसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी माघ ११ गते साथिभाई सामाजिक युवा क्लब फुङ्लिङ र पुवाजुङ फुटबल क्लब इलाम तथा पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लब खाम्लुङ र कुम्मायक कुसायक क्लब पाँचथरबीच खेल हुने तालिका रहेको छ।
प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख २ हजार ८२ रुपैयाँ तथा उपविजेता टोलीले १ लाख ५२ हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार रुपैयाँ तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभयो।
माघ १३ गते फाइनल खेल हुने प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकका अनुसार खेलकुदमार्फत स्थानीय पहिचान र पर्यटन विकासलाई अगाडि बढाउने लक्ष्यसहित गोल्डकप आयोजना गरिएको हो।







