२ माघ, ताप्लेजुङ । नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चद्वारा श्रीजङ्घा गाउँपालिका–अन्तर्गतका खेवाङ र सिनाम स्वास्थ्य चौकीलाई मागअनुसार विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ।
स्वास्थ्य चौकी खेवाङलाई सेमि अटो एनालाइजर मेसिन, रेडियन्ट वेभि वार्मर तथा अटो क्लेभ मेसिन प्रदान गरिएको छ। त्यसैगरी स्वास्थ्य चौकी सिनामलाई रेडियन्ट वेभि वार्मर, माइक्रोस्कोप, हट एयर ओभन, फेरी लाइट, इएनटी सेटसहित ९ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराइएको ताप्लेजुङ विकास मञ्चले जनाएको छ।
प्रदान गरिएका उपकरणले श्रीजङ्घा गाउँपालिकाका दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईंले स्थानीय तहका स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो।







