ताप्लेजुङ। ताप्लेजुङको सिंवा बजारमा सञ्चालन भइरहेको आमन्त्रित प्रथम माघेमेला गोल्ड कप फुटबल प्रतियोगितामा आयोजक सिंवा स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न उद्घाटन खेलमा आयोजकले जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा ऐतिहासिक माघेनी मेलासँगै आयोजना गरिएको प्रतियोगितामा आठ टोली सहभागी छन्। माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूका अनुसार शुक्रबार प्रतियोगिताको दोस्रो दिन दुई खेल सञ्चालन हुनेछन्।
शुक्रबार नाम्थोक युवा क्लब पाँचथर र बि.सि.एस. मेमोरियल युवा क्लब सावादिनबीच पहिलो खेल हुनेछ भने ड्रिम बोइज एफ.सी. धनकुट्टा र खाम्लालुङ ग्रामीण युवा समाजबीच अर्को खेल हुने कार्यक्रम छ।
यस्तै, शनिबार अन्तिम क्वार्टरफाइनल खेलमा श्री लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ।
ऐतिहासिक माघे मेला यसअघि पनि हुँदै आएको भए पनि गोल्ड कप प्रतियोगिता भने पहिलो पटक आयोजना गरिएको हो। माघे मेला सञ्चालन समिति र सिंवा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले नगद १ लाख ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्।
त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
मेलाको अवसरमा “वृहत माघेनी मेला सांगीतिक साँझ–२०८२” समेत आयोजना गरिने सांस्कृतिक संयोजक फुङनाम लिङखिमले जानकारी दिनुभयो। सांगीतिक साँझमा राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूसहित चर्चित तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने सिंवा बजार ताप्लेजुङको तेस्रो ठूलो बजार हो। कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल, ओलाङ्चुङगोला, सिङ्जेमा ताल तथा चीनसँगको सीमा नाका तिप्तालाको प्रवेशद्वारका रूपमा रहेको यस क्षेत्रको प्रवर्द्धन र व्यापारिक विकासलाई लक्षित गर्दै मेला आयोजना गरिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!