ताप्लेजुङ। सञ्चारकर्मी तथा समाजसेवी बिक्रम लाम्गादेले आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक सामग्री वितरण गर्नुभएको छ। उहाँले सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई अभ्यास पुस्तिका, डटपेनलगायतका शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो।
विद्यालयमा अध्ययनरत ७५ जनाभन्दा बढी विद्यार्थीलाई ती सामग्री वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै सञ्चारकर्मी लाम्गादेले आफ्नो स्वइच्छाले सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो।
उहाँले भन्नुभयो,
“विद्यार्थी भाइबहिनीहरू, मैले दिएको एउटा कापी र डटपेनले तपाईंहरूको जीवनमा ठूलो परिवर्तन नल्याउन सक्छ, तर नयाँ कार्यको सुरुवात अवश्य हुन्छ। सुरुवात आफैँबाट हुनुपर्छ, र मैले त्यसको सुरुवात गरेको हुँ।”
गत वर्ष पनि सोही विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको स्मरण गर्दै उहाँले अनावश्यक खर्च गरेर जन्मदिन मनाउन आफूलाई मन नपर्ने उल्लेख गर्नुभयो। सामाजिक कार्यप्रति रुचि भएका कारण यस्ता गतिविधि गर्न पाउँदा सधैँ उत्साहित रहने उहाँको भनाइ थियो।
उहाँले थप्दै भन्नुभयो,
“हामी सामाजिक सञ्जालमा समूह बनाएर असहायहरूलाई आर्थिक सहयोगसमेत गर्दै आएका छौँ। आफूसँग भए–नभए पनि सामाजिक काममा मलाई विशेष रुचि लाग्छ।”
लाम्गादेको उक्त कार्यको विद्यालय परिवारले खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको थियो। हाल उहाँ रेडियो तमोर १०२ मेगाहर्जमा समाचार प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ।







