ताप्लेजुङ । विद्यालयमा नानीहरू पढाइरहेका अभिभावकहरूमा अबको अवस्था कस्तो हुन्छ भन्ने विषयमा चासो बढेको छ। यसबारे बुझ्नका लागि रेडियो ताप्लेजुङले विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ति मादेनसँग सम्पर्क गरेको थियो।
मादेनले विद्यालयका पूर्व प्रिन्सिपल अर्यालले व्यवस्थापन समितिसँग सहकार्य नगरेको र विद्यालय छोड्दा पनि कुनै जानकारी नदिएको भन्दै दुःख व्यक्त गर्नुभयो। “हामीले कतिपय समयमा कल गरेर बैठक बस्न आग्रह गर्दा सबै ठिक छ भनेर मात्र भन्नुहुन्थ्यो, आन्तरिक कुराहरू हामीलाई सेयर गर्नु भएन,” उहाँले भन्नुभयो।
पूर्व प्रिन्सिपल अर्यालले अभिभावकलाई “नानीहरूको भविष्य छैन, अन्यत्र लैजानुहोस्” भन्ने सन्देश पठाएको र कार्यरत शिक्षकहरूको मनोबल घटाउने काम गरेको भन्दै मादेनले असन्तोष व्यक्त गर्नुभयो।
तर, विद्यालयको भविष्य सुरक्षित छ। मादेनले विद्यालयको नयाँ भवन निर्माणको लागि निर्माण समितिलाई जिम्मा दिइसकेको र निर्माण कार्य भोलि (बुधबार)देखि सुरु हुने जानकारी दिनुभयो।
यसमा समताका फाउन्डर दीपक सन्जेलले ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। साथै, स्थानीय सरकारबाट १० लाखको बजेट प्राप्त हुने भए पनि यस वर्ष ५ लाख र अर्को वर्ष ५ लाख दिने निर्णय गरिएको छ।
मादेनले सस्तो मूल्यमा गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता दोहोर्याउँदै, विद्यालयको साखलाई अझ बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले अभिभावक तथा सरोकारवालाहरूलाई भ्रमपूर्ण प्रचारमा नपर्न आग्रह पनि गर्नुभयो।
✍️यो समाचार रेडियो ताप्लेजुङका समाचार प्रस्तोता किरण गडाइलिको इन्टरभ्युबाट तयार पारेका हौ।







