ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापनहीनता र प्रशासनिक असमझदारीको गम्भीर उदाहरण बनेको छ। प्रतियोगितामा सहभागी अधिकांश विद्यालयहरू झन्डा र मार्च पासबिना नै उपस्थित हुँदा कार्यक्रमको गरिमा र उद्देश्य नै प्रश्नमा परेको छ।

खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा विद्यालयगत मार्च पास, झन्डा र अनुशासन अनिवार्य मानिन्छ। तर यस वर्षको राष्ट्रपति रनिङ शिल्डमा अधिकांश विद्यालयहरूले न त झन्डा बोकेका थिए, न त व्यवस्थित मार्चको तयारी नै। यसले आयोजकको तयारी कति कमजोर थियो भन्ने स्पष्ट देखाएको स्थानीय खेलकुदकर्मीहरूको टिप्पणी छ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले खाना, बसोबास, न्यानो कपडा र खेल सामग्रीको अभावमा सास्ती भोग्नुपरेको गुनासो गरिरहेका छन्। कतिपय विद्यालयका विद्यार्थीहरू लामो दूरी पार गरेर आए पनि उनीहरूका लागि न्यूनतम व्यवस्थासमेत नगरिएको आरोप छ। उता जनप्रतिनिधि र अतिथिका लागि भने छुट्टै सत्कार, भोजन र सुविधा उपलब्ध गराइएको देखिएको छ।

विवाद चर्किएपछि फुङ्लिङ नगर प्रमुख अमिर मादेनले प्रतियोगिता आयोजनामा आफूलाई कुनै औपचारिक समन्वय नगरेको दाबी गरेका छन्। उनले व्यवस्थापनमा देखिएको कमजोरीको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिन नसक्ने बताएका छन्।

तर आयोजक पक्षले भने नगरपालिकालाई जानकारी गराइएको र सीमित बजेट तथा समयका कारण अपेक्षितस्तरको तयारी हुन नसकेको प्रतिक्रिया दिएको छ। आयोजकका अनुसार झन्डा र मार्च व्यवस्थापन विद्यालयकै जिम्मेवारी भएकाले सबै विद्यालयले पालना नगरेको हो।
तर जानकारहरूका अनुसार राष्ट्रपति रनिङ शिल्डजस्तो राष्ट्रिय प्रतियोगितामा उद्घाटन, मार्च पास र अनुशासन आयोजकको समन्वय र निर्देशनबिनै सम्भव हुँदैन। विद्यालयहरू झन्डा र मार्चबिनै उपस्थित हुनु आयोजकको निर्देशन, समन्वय र अनुगमनको गम्भीर कमजोरी भएको उनीहरूको ठम्याइ छ।

स्थानीय नागरिक समाज र खेलकुद क्षेत्रका सरोकारवालाहरूले राष्ट्रपति रनिङ शिल्ड विद्यार्थीको प्रतिभा विकासभन्दा प्रशासनिक लापरवाही, बजेट दुरुपयोग र जिम्मेवारीबाट पन्छिने अभ्यासको उदाहरण बन्दै गएको टिप्पणी गरेका छन्।

उनीहरूले खर्च विवरण सार्वजनिक गर्न, जिम्मेवार निकायमाथि छानबिन गर्न र आगामी प्रतियोगितामा यस्तो लज्जास्पद अवस्था नदोहोर्याउन माग गरेका छन्।
विद्यार्थीको भविष्यसँग जोडिएको राष्ट्रिय खेलकुद कार्यक्रम यसरी अव्यवस्थित र विवादित बन्नु स्वयं राज्य प्रणालीमाथिकै प्रश्न भएको विश्लेषकहरूको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!