ताप्लेजुङ ।
पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केवलकारलाई लिएर विवाद चर्किँदै जाँदा यसको असर राजनीतिक दलभित्रै देखिन थालेको छ। शुक्रबार ताप्लेजुङको फुङलिङ र ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत ‘नो केवलकार’ पक्षले आन्दोलन पुनः सुरु भएको घोषणा गरेको छ।

केवलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले मन्त्रिपरिषद् स्तरीय निर्णयबाट केवलकार खारेजी नभएसम्म आन्दोलन जारी रहने बताए। स्थान परिवर्तन गरेर सहमति खोज्ने प्रयास अस्वीकार्य भएको उनको भनाइ छ।

यसैबीच केवलकार निर्माण कम्पनी पाथीभरा (मुक्कुमलुङ) दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा समावेश भएपछि विवाद थप राजनीतिक बनेको छ।
उज्यालो नेपाल पार्टीका नेता कीर्तिमान मादेनले उक्त घटनाले आफूहरूलाई समेत अन्योलमा पारेको स्वीकार गरे।

‘एकीकरणको कुनै औपचारिक सल्लाह थिएन, रातारात के भयो भन्ने प्रश्न उठेको छ,’ उनले भने। केवलकार खारेजीको माग गर्ने र निर्माण पक्षका प्रतिनिधि एउटै राजनीतिक संरचनामा रहन नसक्ने उल्लेख गर्दै यसबारे नीतिगत निर्णय गरिने बताए।

आन्दोलनरत पक्षका अनुसार पाथीभरामा निर्माणाधीन केवलकारका प्रमुख लगानीकर्ता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हुन्। यस विषयमा माथिल्लो राजनीतिक तहमा छलफल भइरहे पनि ठोस निष्कर्ष नआएको उनीहरूको आरोप छ।

‘नो केवलकार’ पक्षले पुस २२ गतेदेखि गाउँस्तरमा अभियान, माघ १२ गते पूर्वी नेपालभर कोणसभा र माघ १६ गते फुङलिङमा जनप्रदर्शन गर्दै यस विषयलाई आगामी निर्वाचनको मुख्य एजेण्डा बनाउने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!