१७ पौष, ताप्लेजुङ।फुङलिङ नगरपालिकाको ११ औं नगरसभा सञ्चालन हुने दिन नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह अस्थायी रूपमा बन्द हुने भएको छ।
नगर कार्यपालिकाको कार्यालय फुङलिङ, ताप्लेजुङले जारी गरेको सूचनाअनुसार मिति २०८२ साल पौष १८ गते शुक्रबार नगरसभा सञ्चालन हुने भएकाले सो दिन नगरपालिकाको केन्द्रीय कार्यालय तथा वडा कार्यालयहरूबाट प्रदान गरिँदै आएका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द रहने जनाइएको छ।
नगरपालिकाले सेवा प्रवाह बन्द रहने जानकारी सबै नगरवासीहरूलाई गराउँदै यस अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
नगरसभा स्थानीय सरकार सञ्चालनका महत्वपूर्ण नीति, कार्यक्रम तथा निर्णयहरू पारित गर्ने प्रमुख मञ्च भएकाले सो दिन कर्मचारीहरूको पूर्ण सहभागिता आवश्यक पर्ने कारण सेवा प्रवाह बन्द गर्नुपरेको नगरपालिकाले जनाएको छ।
सूचनामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाको हस्ताक्षर रहेको छ।








