ताप्लेजुङ, पुस १६।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङले पार्टी परित्याग गरेका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पुनः पार्टीमा फर्किन हार्दिक अपिल गरेको छ।
जिल्ला कार्यसमितिद्वारा जारी अपिलमा नेपाली कांग्रेस राष्ट्रवाद र लोकतन्त्रको पहरेदार भएको उल्लेख गरिएको छ। देशमा संकट उत्पन्न भएका हरेक समयमा कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्दै आएको ऐतिहासिक तथ्यलाई स्मरण गराउँदै पछिल्ला राजनीतिक घटनाक्रमले पुनः लोकतान्त्रिक व्यवस्था माथि चुनौती थपिएको जनाइएको छ।
अपिलमा भनिएको छ, “देशलाई निराशाबाट आशातर्फ डोर्याउने जिम्मेवारी अहिलेको आवश्यकता हो। लोकतन्त्रको रक्षा गर्दै देश निर्माणमा सबै कांग्रेसजन एकजुट हुनुपर्ने समय आएको छ।”
विगतमा विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका, अन्य दलमा आवद्ध भएका वा स्वतन्त्र उम्मेदवार बनेका व्यक्तिहरूलाई विगतका कमजोरीलाई आत्मसाथ गर्दै पार्टीलाई थप सुदृढ, संगठित र एकताबद्ध बनाउन भूमिका खेल्न आग्रह गरिएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संविधानको संरक्षण र दीगो विकासका लागि नेपाली कांग्रेस अपरिहार्य शक्ति भएको उल्लेख गर्दै पार्टीलाई ‘आफ्नो घर’ मानी फर्किन जिल्ला कार्यसमितिले भावनात्मक आग्रह गरेको छ।
उक्त अपिलमा जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, सचिव युगवीर हाङबाङ (डम्बर) र सह–सचिव सञ्जय निरौलाले हस्ताक्षर गरेका छन्।








