ताप्लेजुङ, पुस ११ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता सिफारिस प्रक्रियामा प्रयोग हुने फोटोबारे कडाइ गर्ने निर्णय गरेको छ।
कार्यालयले स्थानीय तहका सबै वडा कार्यालयलाई परिपत्र गर्दै नेपाली नागरिकताको अनुसूचीका लागि अबदेखि स्पष्ट मुखाकृति देखिने, सेतो पृष्ठभूमिमा खिचिएको पासपोर्ट साइजको फोटो मात्र प्रमाणित गरी सिफारिस पठाउन निर्देशन दिएको हो।
यसअघि विभिन्न ढाँचाका फोटो प्रयोग हुँदा समस्या देखिएको भन्दै कार्यालयले अब उक्त मापदण्ड अनिवार्य रूपमा लागू गर्न आग्रह गरेको छ। तोकिएको मापदण्ड विपरीत फोटो संलग्न गरी पठाइएका नागरिकता सिफारिसहरू फिर्ता पठाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईद्वारा जारी परिपत्रमा उल्लेख गरिएअनुसार, यस व्यवस्थाले नागरिकता वितरण प्रक्रियालाई व्यवस्थित, एकरूप र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।








