ताप्लेजुङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहनुभएको उज्यालो नेपाल पार्टीले ताप्लेजुङ जिल्लामा संगठनात्मक गतिविधि विस्तार गरेको छ।
शनिबार भएको संगठनात्मक भेलाबाट गठित जिल्ला संरचनाको संयोजकको जिम्मेवारी प्रदीप मादेन (नानी) लाई दिइएको छ।
पार्टीका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीका अनुसार मादेनको नेतृत्वमा जिल्ला तहको संरचना तयार गरिएको हो।
मादेन यसअघि डा. लावतीकै अध्यक्षतामा रहेको पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजकका रूपमा कार्यरत रहनुभएको थियो।
जिल्ला संगठन गठनसँगै पार्टीले युवा तथा महिला लक्षित अभियानलाई सशक्त बनाउन सम्पर्क प्रतिनिधिहरू नियुक्त गरेको जनाएको छ। सो जिम्मेवारी सरगम शेर्पा, लिला पालुङ्वा, लाजरस लिम्बू र नरकुमार नाल्वोलाई प्रदान गरिएको छ।







