ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवा र १० फुरुम्बूमा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी पीडितलाई कानुन बमोजिम राहत उपलब्ध गराउन जिल्ला प्रशासनले पहल गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको बैठकले भालुको आक्रमणबाट भएको क्षतिको यथार्थ विवरण सङ्कलन, राहत प्रक्रिया अघि बढाउने तथा भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न नियन्त्रणात्मक उपाय अवलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकले फुङलिङ नगरपालिका सहित जिल्लाका सबै स्थानीय तह, डिभिजन वन कार्यालय, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीयवासीले सुरक्षा निकायसँग समन्वय गरी भालु नियन्त्रणका लागि संयुक्त कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनधन तथा पशुधनको सुरक्षा सुनिश्चित गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सुरक्षा निकायसँग सहकार्य गरी आवश्यक सबै सावधानी तथा नियन्त्रणका उपाय लागू गर्नेछ ।
डिभिजन वन कार्यालयका अनुसार पछिल्ला केही सातायता हाङ्देवा र फुरुम्बू क्षेत्रमा ८ घरधनीका १३ वटा पशुचौपायामा भालुले आक्रमण गरी क्षति पु¥याएको छ ।
भालुको सम्भावित आक्रमण न्यूनीकरणका लागि जोखिमयुक्त नाकाहरूमा उच्च क्षमताका विद्युत बत्ती जडान गर्ने, साइनर तथा अन्य चेतनामूलक उपकरण प्रयोग गर्ने लगायतका विषयमा समेत बैठकमा विस्तृत छलफल भएको प्रशासनले जनाएको छ ।







