ताप्लेजुङ, पुस ११ गते । तमु ल्होसारको अवसरमा आयोजना गरिएको दोस्रो पदम बहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता फुङ्लिङ नगरपालिका–६ स्थित लक्ष्मीटार खेलमैदानमा भव्य रूपमा सुरु भएको छ। युवाशक्ति, अनुशासन र प्रतिस्पर्धाको संगम बनेको प्रतियोगिताले जिल्लामा खेलकुद उत्सवको माहोल सिर्जना गरेको छ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यता तथा उपप्रमुख भिमादेवी ओझाको विशिष्ट आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा खेलकुदले युवालाई गलत बाटोबाट जोगाउँदै राष्ट्र निर्माणमा योगदान पुर्याउने माध्यम भएको उल्लेख गरियो।
प्रतियोगिताको उद्घाटन दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा साथीभाइ युवा क्लबले आयोजक ‘ए’ टोलीमाथि ४–० को एकतर्फी जित निकाल्दै मैदानमा आफ्नो दबदबा जमायो। खेलभर आक्रामक प्रदर्शन गरेको साथीभाइ युवा क्लबले दर्शकको उत्साह चुलायो।
त्यस्तै दोस्रो खेलमा गोर्खाली युवा क्लब, मेलुङले कर्णसिंह सोनाम स्मृति क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा शक्तिशाली उपस्थितिको सन्देश दियो।
कुल १४ टोली सहभागी प्रतियोगिताका बाँकी खेलहरू भोलिदेखि बिहान १० बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएका छन्। प्रतियोगिताको फाइनल खेल तमु ल्होसारकै दिन पुस १५ गते आयोजना हुने छ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १५ हजार रुपैयाँ तथा उपविजेता टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय स्तरबाटै सुरु भएको यो प्रतियोगिताले ताप्लेजुङमा खेलकुद संस्कृतिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।







