ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकामा इलाका प्रशासन कार्यालय रहने गरी नेपाल सरकार तथा मन्त्रिपरिषद्बाट निर्णय भएको छ। उक्त निर्णयअनुसार इलाका प्रशासन कार्यालय गाउँपालिकाको केन्द्र तेल्लोकमा रहनेछ।
लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएको इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी विषयमा सरकारले सकारात्मक निर्णय गरेपछि स्थानीयस्तरमा खुसी व्यक्त गरिएको छ। यस निर्णयले सिरिजङ्घा गाउँपालिकासँगै सिदिङवा तथा पाथीभरा याङवरक गाउँपालिकाका केही वडाहरूका नागरिकहरूलाई समेत सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
नागरिकता, राहदानी सिफारिस, प्रशासनिक कागजात लगायतका सेवाका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता अब कम हुने विश्वास गरिएको छ। स्थानीय सरोकारवालाहरूले यस निर्णयलाई जनताको आवश्यकता सम्बोधन गर्ने महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन्।







