ताप्लेजुङ । यसअघि पाँचथरको फिदिमबाट सञ्चालन हुँदै आएका करसम्बन्धी सम्पूर्ण सेवा अब ताप्लेजुङमै उपलब्ध हुने भएका छन्। ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कर दर्ता, दाखिला, समायोजनलगायत सबै करसम्बन्धी कामकाज सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख यामनाथ गिरीले जानकारी दिनुभयो।
नयाँ व्यवस्थासँगै करदाता तथा सेवाग्राहीले फिदिम पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। यसले समय, श्रम र आर्थिक खर्चको बचत हुनुका साथै स्थानीय स्तरमै सहज, छरितो र प्रभावकारी सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।
कार्यालयले कर प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ उक्त व्यवस्था लागू गरिएको प्रमुख गिरीले बताउनुभयो।








