११ पौष, ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–६, पिपल चोकस्थित तमोर फाइभ हाईड्रोपावर आयोजनाको आटलेट सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर एक मजदुरको मृत्यु भएको छ।
दैलेख गुराँस गाउँपालिका–३ का भद्र बहादुर शाही गम्भीर घाइते अवस्थामा आज बिहान ९:३० बजे आधारभूत अस्पताल तापेथोक ल्याइएका थिए। उपचारकै क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका छन्।
घटनामा बर्दिया मधुवन नगरपालिका–४ का आकाश खड्का घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको छ। प्रारम्भिक उपचारपछि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ। घटनास्थल प्रहरी चौकी तापेथोकबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट टोली खटिएको छ।







