ताप्लेजुङ, पुस १० — फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले सबै धर्मप्रति समान सम्मान र अपनत्व आवश्यक रहेको बताएका छन् । क्रिसमस डेको अवसरमा ख्रिस्टियन बत्तीस मण्डली फुङलिङ नगरपालिका–५ द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले धर्मका नाममा होच्याउने प्रवृत्तिबाट समाज टाढा रहनुपर्नेमा जोड दिए ।
‘हामीले मान्ने विधि फरक–फरक हुन सक्छ, तर भगवान एउटै हुन्,’ मेयर मादेनले भने, ‘मेरो धर्म, तेरो धर्म भनेर विभाजन होइन, सबैले सबैलाई स्वीकार गरेर बस्नु नै सभ्य समाजको आधार हो ।’
कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हांबिर हाङगाम डम्बरले इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति शुभेच्छा व्यक्त गरे ।
शुभकामना कार्यक्रममा फुङलिङ नगरपालिका–५ का वडाध्यक्ष सोजित श्रेष्ठ, नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ तथा पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले पनि क्रिसमसको शुभकामना दिएका थिए ।
बत्तीस मण्डलीका अध्यक्ष तथा पास्टर रुबेन एभेङका अनुसार जिल्लाभर विभिन्न स्थानमा आ–आफ्नै शैलीमा क्रिसमस डे मनाइएको छ । गाउँ–सहरको सामाजिक परिवेशअनुसार कार्यक्रम आयोजना गरिएको र नगर केन्द्रित औपचारिक कार्यक्रम बत्तीस मण्डलीको पहलमा सम्पन्न गरिएको उनले जानकारी दिए ।







