ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा पुस १५ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद माहोललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
स्थानीय उत्पादनका रूपमा चिनिने प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन गर्नुका साथै विश्वभर छरिएर रहेका लिम्बू समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको ऐतिहासिक स्थल ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार–प्रसार गर्ने उद्देश्यले गोल्ड कप आयोजना गर्न लागिएको क्लबका संरक्षक विकास साम्रा (रविन) ले जानकारी दिनुभयो।
प्रथम मानाभारा गोल्ड कपअन्तर्गत अन्तरक्लब स्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने छ। खेजेनिमस्थित आहाले टार खेल मैदानमा हुने प्रतियोगितामा जम्मा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्, जसमध्ये एक टिम जिल्ला बाहिरको रहने क्लबका सचिव मौसम अन्छङ्बोले बताउनुभयो।
प्रतियोगितामा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबसँगै सिँवा स्पोर्टिङ क्लब लिङखिम, माछापोखरी हिटी क्लब चाँगे, नव प्रयास युनाइटेड क्लब हाङ्देवा, प्रगतिशील युवा क्लब लिङ्तेप, लालीगुराँस स्पोर्टिङ क्लब सुरुमखिम र जनसेवा स्पोर्टिङ क्लब ढुङ्गेसाँघु सहभागी हुने निश्चित भइसकेका छन्। जिल्ला बाहिरको एक टिमको टुङ्गो भने चाँडै लाग्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ५२ हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।
यसका अतिरिक्त प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि विभिन्न विधामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। स्थानीय खेलाडीको क्षमता प्रदर्शनसँगै क्षेत्रीय पर्यटन र खेलकुद प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा आयोजकको छ।







