ताप्लेजुङ, मंसिर १६ गते ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली तथा सीमावर्ती क्षेत्रका सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै एक सातासम्म विशेष गस्ती सञ्चालन गरेको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमको नेतृत्वमा ९ सदस्यीय टोलीले मंसिर ८ देखि १४ गतेसम्म घुन्सा, खाम्बाचेन, लोनाक हुँदै उत्तरी कञ्चनजङ्घा बेस क्याम्पसम्मको क्षेत्र कभर गर्दै गस्ती सम्पन्न गरेको हो।
डीएसपी गौतमका अनुसार अत्यन्तै दुर्गम र जोखिमपूर्ण हिमाली क्षेत्रमा हुने चोरी–तस्करी, अवैध जडीबुटी तथा वन्यजन्तु ओसारपसार रोकथाम, विदेशी पर्यटकको गतिविधि निगरानी तथा समग्र सुरक्षा मूल्यांकन मुख्य उद्देश्यसहित गस्ती गरिएको थियो। साथसाथै स्थानीयलाई आवश्यक जानकारी प्रदान गर्दै प्रहरी–समुदाय सम्बन्ध सुदृढ बनाउनेतर्फ पनि ध्यान दिइएको उहाँले बताउनुभयो।
गस्तीका क्रममा टोलीले स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकहरूसँग प्रत्यक्ष संवाद गर्दै सुरक्षासम्बन्धी सुझाव संकलन गरेको थियो। सार्वजनिक सेवा प्रवाह, सूचना आदान–प्रदान र पहाडी–हिमाली क्षेत्रले भोग्ने समस्याबारे समेत छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस क्रममा टोलीले फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुसहित स्थानीय जनप्रतिनिधिसँग बैठक तथा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित सम्भावित सुरक्षा चुनौती तथा अन्तर्राष्ट्रिय सीमामा हुन सक्ने अवैध गतिविधि रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो।
कठोर मौसम, दुर्गम भौगोलिक चुनौती र लामो दूरीको यात्रा हुँदाहुँदै पनि टोलीले सामाजिक सुरक्षा भत्ता वितरणजस्ता सार्वजनिक सेवामा समेत सहयोग गर्दै निर्धारित सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको प्रहरीले जनाएको छ।







